menu

१५ बैशाख २०८१, शनिबार

मा. राम बहादुर थापामगर [अध्यक्ष]

आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष रामबहादुर थापामगर आमा हस्तमायाँ र बुबा रणबहादुर थापामगरको छोरा उदयपुर जिल्ला तत्कालिन खाँबु गाउँ विकास समिति वडा नं ३, हाल परिवर्तित त्रियुगा नगरपालिका वडा नं. १५ खाँबु (कुभिण्डे) मा बिक्रम सम्बत् २०२६ भाद्र १ गते जन्मनु भएको हो । अध्यक्ष थापामगरले श्री सिद्धवति प्राथमिक विद्यालय, खाँबुबाट प्राथमिक शिक्षा प्राप्त गर्नु भएको थियो भने श्री जनता निम्‍न माध्यामिक विद्यालय रानीबासबाट निम्‍न माध्यामिक र श्री त्रियुगा जनता माध्यामिक विद्यालय गाईघाट, उदयपुरबाट २०४४ सालमा एस.एल.सी. उतीर्ण गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयद्धारा सञ्चालित प्राईभेट परिक्षा दिई भैरहवाबाट २०४८ मा आई.ए.,काठमाडौंबाट २०५२ सालमा स्‍नातक (बि.ए.) र २०५६ मा नेपाली साहित्यमा स्‍नाकोत्तर (एम.ए.) उतिर्ण गर्नु भएको हो । २०५२ मा प्राइभेट तर्फबाटै काठमाडौबाट कानूनमा आइ.एल. तथा २०५८ मा स्‍नातक (वि.एल.) गर्नु भएका थापामगरले पाटन बहुमुखि क्याम्पस पाटनढोका ललितपुरबाट २०६३ मा समाज शास्त्र र प्राइभेट परिक्षार्थिको रुपमा त्रिभुवन विश्वविद्यालयबाट २०६४ मा राजनीति शास्त्रमा पनि स्नातकोत्तर(एम.ए.) उतिर्ण गर्नु भएको छ । हाल,त्रिभुवन विश्वविद्यालय, किर्तिपुरबाट राजनीति शास्त्रमा विद्या वारिधि गर्दै हुनुहुन्छ । अधिवक्ताको प्रमाणपत्र प्राप्त थापामगर दुई दशकदेखि कानून व्यवशायमा पनि सङ्लग्न हुनुहुन्छ ।

वि.सं.२०५० सालदेखि तत्कालिन नेपाल मगर सङ्घ उपत्यका मगर विद्यार्थी समन्वय समितिको सह–सचिवबाट आदिवासी जनजाति उत्थानको आन्दोलन र साङ्गठनिक सक्रियाताको शुरुवात गर्नु भएका थापामगरले २०५१ मा उक्त संस्थाको सचिव हुनुको साथै उहाँकै सक्रियतामा २०५१ फाल्गुन २७ गते नेपाल मगर विद्यार्थी सङ्घ केन्द्रीय समितिको स्थापना भएको हो र उहाँ सो संगठनको संस्थापक महासचिव हुनु हुन्छ । २०५६ सालमा स्थापित नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घको संस्थापक अध्यक्ष थापामगर नेपालका आदिवासी जनजातिको साझा सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घको महासचिव (२०६३–६६) रही आदिवासी जनजातिको हक अधिकारको लागि महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ ।

२०६२/०६३ को जन आन्दोलनले ल्याएको परिवर्तनसँगै आदिवासी जनजाति आन्दोलनको नेतृत्व गर्दै थापामगर संविधान सभा (२०६४) मा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत तत्कालिन नेकपा (माओवादी) पार्टीको तर्फबाट संविधानसभा सदस्य निर्वाचित हुनु भएको थियो । संविधानसभाको न्याय प्रणाली समितिमा रही विभिन्न उप समितिको संयोजकको भूमीका निर्वाह गर्दै आदिवासी जनजातिको हक,अधिकार र उनिहरुको परम्परागत न्याय प्रणालीलाई संविधान निर्माणको मस्यौदामा एकिकृत गर्न महत्वपूर्ण भूमीका खेल्नु भएको थियो ।

थापामगरको बौद्धिक योगदान अन्तरगत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल एवं पत्र पत्रिकामा अनुसन्धानमूलक, वैचारिक,साँस्कृतिक,समसामयिक एवं राजनैतिक र आदिवासी जनजातिको अधिकार सम्बन्धि सयौं लेखहरु प्रकाशित छन् । जुन बेला आदिवासी जनजातिका अधिकार,संस्कृति,धर्म र संस्कारका कुराहरु कुनै पनि राष्ट्रिय मूलधारका पत्र पत्रिकाले उजागर नगरिरहकेको समयमा थापामगरले एक दशक भन्दा बढी (२०५२–६३) सक्रिय रुपमा आफ्नै प्रकाशन र सम्पादनमा कानूङ् लाम् (हाम्रो बाटो) पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक रही पत्रकारीता गर्नु भयो । उहाँकोे मगर जातिको संस्कृति सम्बन्धि निवन्ध, जीवनी र कथा सम्बन्धि तीनवटा पुस्तक (२०६७) प्रकाशित छन् । सङ्घीय नेपालको तस्विर (बैचारिक) २०६६,जनयुद्धमा आदिवासी जनजाति मगर जातिको सहभागिता (अनुसन्धानमूलक) २०७१, र बूढो धरहरा (कविता सङ्ग्रह) २०६८, कृतिहरु प्रकाशित छन् ।
तिन दशकदेखि आदिवासी जनजाति अधिकार, मानव अधिकार, राजनीति, समाजसेवा,र पत्रकारितामा समर्पित थापामगर नेपालको संविधान २०७२ अनुसार संवैधानिक परिषद्को २०७७।८।३० को सिफारिसमा सम्माननीय राष्ट्रपति ज्यूबाट २०७७ माघ २१ गते आदिवासी जनजाति आयोगको अध्यक्षमा नियुक्त हुनु भएको हो ।

माननीय अध्यक्षज्यूको सचिवालय